Cine Sanchar

Nepali Filmy Khabar

चलचित्र ‘कबड्डी ४’ मा मिरुना र गौमाया अनुबन्धित

काठमाडौं | सम्पूर्ण दर्शकहरुले एकदमै मन पराएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ को चौथो पार्ट ‘कबड्डी ४’ निर्माण हुने भएको छ । केहि समय अगाडि निर्माण घोषणा गरिएको चलचित्रमा नायिका को रहने भन्ने कुरा खुलाइएको थिएन ।

हालै निर्माण टिमले यस चलचित्रको लागि नायिकाद्वय मिरुना मगर र गौमाया यात्रीलाई अनुबन्ध गरेको छ । मिरुनाले यस अघि चलचित्र ‘रोज’ र ‘च च हुई’ मा अभिनय गरिसकेकी छिन् भने गौमाया चर्चित नेपाली भ्लगर हुन् ।

उनले भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रवर्द्धनमा जोड दिएकी छिन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले पहिला नै अनुबन्ध भैसकेका थिए।

चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेत केमियो भूमिकामा रहने रामबाबुले बताए । चौथो पार्टमा नायिका रेश्मा गुरुङ र उपसाना सिंह ठकुरीको भूमिका हुने नहुने बारे रामबाबुले केहि खुलाएनन् ।

वैशाखको पहिलो सातादेखि चलचित्रको छायांकन सुरु हुने छ । छायांकनमा जानुअघि सबै कलाकारको कोरोना टेस्ट गरिने भएको छ । कोरोना नेगेटिभ देखिए मात्र छायांकन सुरु हुने बताइएको छ ।

चलचित्रको कथा निर्देशक रामबाबु र उपेन्द्र सुब्बाले तयार पारेका छन् । बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले संयुक्त रुपमा निर्माण गर्ने भएका हुन् ।

‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्लको भूमिका थियो ।

त्यसैगरी तेस्रो पार्टमा कर्मा शाक्य, विल्सन बिक्रम राई र उपासना सिंह ठकुरीको प्रवेश भयो । ‘कबड्डी ४’ लाई असोज १५ गतेदेखि देशभर प्रदर्शन गर्ने निर्माण टिमले घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस