Cine Sanchar

Nepali Filmy Khabar

‘प्रेम गीत ३’ लाई ‘हिन्दी’ भाषामा डब गरियो : नेपालसँगै भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी

काठमाडौं | हामी सबैले एकदमै रुचाएका चर्चित नायक प्रदीप खड्का र सुन्दर नव – नायिका कृष्टिना गुरुङको मुख्य भूमिका रहेको बहुप्रतिक्षीत चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी थालिएको छ।

शुक्रबार यो चलचित्रको हिन्दी डबिङ र सम्पादन सकिएको छ । भारतका चलचित्र हलमा नै प्रदर्शन गर्ने गरी यतिबेला चलचित्रको मुम्बईस्थित ‘रियल टच स्टूडियो’ मा पोष्ट प्रोडक्सनको काम भइरहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

चलचित्रलाई नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन गरिने उनको भनाई छ । उनले भारतका चलचित्र हलमा यो चलचित्र प्रदर्शनका लागि विभिन्न वितरक कम्पनीहरुसँग लगातार छलफल भइरहेको बताएका छन् । चलचित्रको अब भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, गीत रेकर्ड लगायतको काम बाँकी रहेको छ ।

सलमान खानको चलचित्र ‘राधे’ र अक्षय कुमारको चलचित्र ‘बेल बटम’ पछि स्टूडियोमा ‘प्रेम गीत ३’ को काम भइरहेको र अहिलेसम्मको काम हेर्दा आफू सन्तुष्ट रहेको सन्तोष बताउँछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘बिस्तृत जनकारी चॉडै हजुरहरु माज काम सहित लिएर आउने छौ .. हाम्रो उद्देश्य सिंगो नेपाली चलचित्रको नेपाल र नेपाली भाषी बाहेक अरु बजारको ढोका ढक्ढकाउने प्रयास रहेको हुनाले .. बलियुडका A’ श्रेणी का प्रविधिकसंग सहकार्य गरेर राम्रो तरिकाले

भारत नेपालसंगै अन्य देशहरुमा एकसाथ विभिन्न भाषामा प्रदर्शन गर्ने कोशिश गरेका छौ .. नेपाली फ़िल्मकर्मी मीडीया कर्मी,नेपाली चलचित्र प्रेमी दर्शकको आशीर्वाद र साथ भएको खण्डमा हाम्रो नेपालीको सृजनाले जुनसुकै बजारमा कदम राख्न सक्नेछ ।’

आसुशेन फिल्मस प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ,

नव- अभिनेता मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चक्रबहादुर चन्द, डम्बर बिक्रम सेन र सन्तोष सेनको संयुक्त लगानी रहेको यो चलचित्रलाई स्वर्गीय निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस