Cine Sanchar

Nepali Filmy Khabar

अनमोल र सुहाना अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ भदौमा प्रदर्शन हुने

काठमाडौं | अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

यस चलचित्रको निर्देशक झरना थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘ए मेरो हजुर ४’ को रोमान्टिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेकी हुन् ।

यो चलचित्र आउँदो भदौ १८ गते प्रदर्शन हुने भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

झरनाले फेसबुकमा लेखेकी छिन् ‘ १११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । हाम्रो चलचित्र ए मेरो हजुर-४ भाद्र १८ (२०७८) मा प्रदर्शन हुदै छ । सदाझै हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु।’

सार्वजनिक गरिएको पोस्टरमा अनमोल र सुहाना निकै रोमान्टिक देखिएका छन् । पोस्टरमा अनमोलले चुम्बन गर्न खोज्दा सुहाना लजाएको देख्न सकिन्छ । यो चलचित्रको अझै छायांकन पूरा भएको छैन ।

निर्माण टिमले यही फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्न लागेको छ । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत र गायक दुर्गेश थापाको पनि भूमिका रहेको छ । दुर्गेशको केही सिन र एक गीत रहने बताइएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर ४’ मा झरना थापा, छेतन गुरुङको कथा, सुनिल कुमार थापाको निर्माण, सञ्जय लामाको छायांकन, वसन्त सापकोटा, आशिष अविरल, कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस