Cine Sanchar

Nepali Filmy Khabar

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन दुबईमा हुँदै

काठमाडौं | पछिल्लो पटक चलचित्र ‘रामकहनी’ मा लोकप्रिय अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा प्रस्तुत गराएका निर्देशक सुदर्शन थापाले पुनः पूजा र आकाशलाई नै लिएर नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्दै छन् ।

सुदर्शनले ‘सम्हालिन्छ कहिले मन’ को निर्माण घोषणा २ वर्ष अगाडि नै गरेका थिए भने उतिबेलै लण्डन पुगेर चलचित्रको केहि छायांकन पनि गरे । यो चलचित्र गत वर्षको भदौ ५ गते प्रदर्शन हुने बताइएको थियो तर, कारणवश छायांकन पूरा नहुँदा निर्माण टिमले छायांकन सुचारु गर्ने तयारी थालेको छ ।

यो चलचित्रको केही दृश्य र गीतको छायांकनका लागि पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, निर्देशक सुदर्शन थापा, कोरियोग्राफर कविराज गहतराज लगायतको टोली दुबई प्रस्थान गरेको छ । यहीँ चलचित्रबाट सोनम तोप्देनले अभिनेताको रुपमा डेब्यु गर्दै छन् ।

आइतबार दुबई उडेका पूजा र आकाशले चलचित्रको करिब २ सातासम्म दुबईका विभिन्न स्थानमा छायांकन हुने र दर्शकहरुले यो चलचित्र चाडैं हेर्न पाउने बताएका हुन् ।

चलचित्रको छायांकन लण्डनको साथै नेपालको मुस्ताङ र काठमाण्डौमा पनि गरिएको छ । यो चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा महेश दवाडीले तयार पारेका हुन् भने सौरभ लामाले छायांकन गर्दै छन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा त्रिकोणात्मक प्रेमकथा देखाइने छ ।

प्रतिक्रिया दिनुहोस