म्युजिक भिडियोमा मलिकाको पारिश्रमिक १ लाखभन्दा बढी

 म्युजिक भिडियोमा मलिकाको पारिश्रमिक १  लाखभन्दा बढी

काठमाडौं | चलचित्र ‘यात्रा’ बाट नेपाली चलचित्र जगतमा प्रवेश गरेकी एकदमै लोकप्रिय अभिनेत्री मलिका महत यतिबेला सर्वाधिक चर्चामा रहेकी छिन् । ‘यात्रा’ ले जुन सफलता दिनुपर्ने थियो त्यो सफलता उनलाई म्युजिक भिडियोले दिएको छ ।

मिलन नेवारको स्वरमा ‘फुलबुट्टे सारी’ बोलको गीतमा अभिनेता पल शाहसँग अभिनय गरेपछि मलिका एकाएक चर्चामा आइन् । उक्त गीतमा उनको अभिनय र पलसँगको केमिस्ट्री सबैले अत्याधिक मन पराए।

त्यसपछि, उनले पल शाहसँग नै अस्मिता अधिकारीको स्वर रहेको अर्को म्युजिक भिडियो ‘टाढा भएपनि’ मा अभिनय गरिन् । यो गीतमा उनिहरुको गज्जबको अभिनय र केमिस्ट्रीलाई दर्शकहरुले झन् मन पराउदा उनिहरुको जोडीको नाम नै ‘पम जोडी’ र ‘पिएम’ जोडी समेत रहन गयो ।

‘टाढा भएपनि’ गीतले युट्युबमामा सर्वाधिक चाडैं १ करोड पटक हेरिएको गीतको रेकर्ड नै राख्न सफल भयो । यो गीतले मलिकाको लोकप्रियतालाई एकदमै बढाइदिएपछि म्युजिक भिडियोमा उनको माग यतिबेला अत्याधिक बढ्न थालेको छ ।

आफ्नो माग ह्वात्तै बढेपछि मलिकाले म्युजिक भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक निशान भट्टराई र एलिना चौहानको स्वर रहेको ‘वर आउन माया’ बोलको गीतमा अभिनय गरेबापत १ लाख २० हजार पारिश्रमिक बुझेकी छिन् ।

म्युजिक भिडियोमा अभिनय गरेबापत महङ्गो पारिश्रमिक लिने पल शाहको पछि पछि अब महङ्गो अभिनेत्रीमा अब मलिका परेकी छिन् । म्युजिक भिडियोमा निकै राम्रो सफलता प्राप्त गरेको यो जोडीलाई अब चलचित्रमा देख्न पाइने भएको छ ।

केन्द्र मोशन पिक्चर्सले पल र मलिकालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने तयारी थालेको छ । केहि दिन अघि पल र मलिकाले पनि चलचित्रको कथा मन परेको खण्डमासँगै चलचित्रमा काम गर्ने बताएका थिए ।

‘यात्रा’ पछि मलिकाले ‘पानी फोटो’ मा अभिनय गरेकी छिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ भने पल ‘२ नम्बरी’, ‘हु तु तु’ र ‘सत्यम’ गरि तीनवटा चलचित्रमा अभिनय गर्दै छन् । उनको ‘म यस्तो गीत गाउँछु २’ र ‘हृदय भरि’ चलचित्र प्रदर्शनको पर्खाइमा रहेका छन् ।

सम्बन्धित खबर