Cine Sanchar

Nepali Filmy Khabar

चलचित्र ‘प्रकाश’ का लागि वर्कसप गर्दै प्रदीप र रेनु

काठमाडौं | लोकप्रिय अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री रेनु योगीको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’ का लागि प्रदीप र रेनु सहित चलचित्रका अन्य सहायक कलाकारहरुले यतिबेला वर्कसप गर्दै छन्।

बिनिश इन्टरटेनमेन्टद्वारा प्रस्तुत हुने यो चलचित्रमा जुम्लामा जन्मिएको एक शिक्षित युवाको सरकारी विद्यालयमा शिक्षक बन्ने सपना र यसका लागि उसले गरेको संघर्षको कथालाई देखाइने भएको छ ।

जसका लागि जुम्लाको भाषा र लवजहरु एकदम आवश्यक भएको कारण कलाकारहरुले चलचित्रका लागि वर्कसपमा एकदम मिहिनेत गरिरहेका छन् ।

फागुन २५ गतेबाट यो चलचित्र छायांकन सुरु गरिने छ । जसको लागि ३५ दिनको छायांकन अवधि राखिएको छ । चलचित्रको अधिकांश छायांकन जुम्लामा हुने छ भने केही दृश्य मात्रै पश्चिम तराई भेगमा हुने बताइएको छ । 

प्रदीपले जुम्लाको भाषा र लवज सिक्नुका साथै, चलचित्रमा एक भर्खरको युवाको भूमिकामा निभाउनु पर्ने भएकोले उनले ७ केजी तौल घटाइसकेका छन् भने अझै केहि केजी घटाउने क्रममा छन् ।

राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन रहने चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् भने तारा प्रकाश लिम्बु, एलिस कार्की र दिपक शर्माको संगीत रहने छ ।

‘प्रकाश’ लाई महेन्द्र अधिकारीले निर्माण गर्दै छन् भने ‘प्रसाद’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस