Cine Sanchar

Nepali Filmy Khabar

अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा चलचित्र ‘आँधी तुफान २’ निर्माण हुने

काठमाडौं | अभिनेत्री पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका रहेको महेन्द्र बुढाथोकी निर्देशित २०६१ सालमा प्रदर्शन भएको चलचित्र ‘आँधी तुफान’ को दोस्रो भाग अब ‘आँधी तुफान २’ निर्माण हुने भएको छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल घोषणा गरिएको हो । चलचित्रमा कलाकारदेखि निर्देशकसम्म परिवर्तन भएका छन् ।

चलचित्रमा एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा चलचित्र निर्माण हुन लागेको बताइएको छ । ‘आँधी तुफान २’ मा आरती आचार्य, पुनम गौतम र याङ्सु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् भने मुख्य नायकमा सञ्जय खतिवडा छन् ।

यो चलचित्रमा मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम लगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

चलचित्रका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । रामशरण उप्रेतीको छायांकन रहने चलचित्रमा सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी र प्रेम चल्ठेको द्वन्द्व रहने छ ।

नारी प्रधान सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्ने भएका छन् । चलचित्रको छायांकन चैतबाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस