Cine Sanchar

Nepali Filmy Khabar

चलचित्रको स्क्रिप्ट छान्दै सलिनमान बानियाँ

काठमाडौं | चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा कदम राखेका चर्चित अभिनेता हुन् सलिनमान बानियाँ । पहिलो चलचित्रबाट नै युवा पुस्ताका दर्शकहरुमाझ निकै गाढा छाप छोड्न सफल भएका सलिन यतिबेला चलचित्रको स्क्रिप्ट छान्दै छन् ।

‘ए मेरो हजुर २’ सुपरहिट भएपछि सलिनलाई लिएर चलचित्र बनाउन निर्माता-निर्देशकहरु ओइरिए । केहि समयपछि उनले सम्राट शाक्यको निर्देशनमा चलचित्र ‘यात्रा’ मा अभिनेत्री मलिका महतसँग अभिनय गरे ।

तर, ‘यात्रा’ ले सोचेअनुसार सफलता प्राप्त गर्न सकेन । व्यावसायिक रुपमा ‘यात्रा’ ले सफलता हासिल गर्न नसकेपनि सलिन र मलिकाको भने चौतर्फी तारिफ भयो । ‘यात्रा’ पछि अहिलेसम्म कुनै चलचित्र घोषणा समेत नगरेका सलिन अहिले स्क्रिप्ट पढ्न व्यस्त छन् ।

उनि राम्रो स्क्रिप्टको पखाईमा छन् । ‘यात्रा’ पछि खाली बसेका सलिनमानलाई थुप्रै अफरहरु आए पनि राम्रो स्क्रिप्ट हात नलागेका कारण काम नगरेको उनि बताउँछन् ।

नयाँ चलचित्रको विषयमा सलिन भन्छन् ‘मलाई यो बीचमा थुप्रै अफर आए । थुप्रै स्क्रिप्ट पढेँ । तर, राम्रो नलागेका कारण काम नगरेको हो । राम्रो स्क्रिप्ट आएको खण्डमा साइन गरेर चलचित्रमा काम गर्छु । तर, ग्याप भयो भनेर हतार गर्दिनँ ।’

दर्शकहरुमाझ सलिनको व्यग्र प्रतिक्षा रहेको छ । सलिन पनि छिट्टै नै नयाँ चलचित्र छनोट गरेपछि दर्शकहरुलाई जानकारी गराउने तयारीमा छन् । उनलाई ठूलो पर्दामा हेर्नको लागि हामीलाई अझै केहि समय कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस