Cine Sanchar

Nepali Filmy Khabar

‘गोर्खा वारियर २’ मा रितेश र रेबिका

काठमाडौं | ‘हसिया’ ‘वीर बिक्रम’ ‘लिली बिली’ ‘वीर बिक्रम २’ ‘बोबी’ जस्ता चलचित्र निर्देशन गरेका निर्देशक मिलन चाम्सले चलचित्र ‘गोर्खा वारियर २’ बनाउने घोषणा गरेका छन् ।

निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ लाई अर्को वर्ष निर्माण गर्ने गरी मंगलवार राजधानीको होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच ‘गोर्खा वारियर २’ घोषणा गरेका हुन् । 

चलचित्रले गोर्खालीहरुको कथा, बहादुरी र विरताको कथा वाचन गर्ने छ । चलचित्रमा रितेश चाम्स, रेबिका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको अभिनय रहने छ ।

नव–नायक रितेश र नायिका रेबिकाले चलचित्रमा जोडिन पाउँदा उत्साहित रहेको बताए । यो चलचित्रको ४ वटा सिरिज निर्माण हुने बताइएको छ । मिलनले ‘गोर्खा वारियर’ निर्माण गर्नु भन्दा अगाडि नै यसको दोश्रो सिरिज निर्माण गर्न लागेका हुन्।

लण्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘गोर्खा वारियर २’ फागुनको २३ गतेबाट छायांकन सुरु हुने छ भने चलचित्रको छायांकन मलेसिया, बेलायत र नेपालमा हुने निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माताको रुपमा छन् । शैलेन्द्र खनालको शब्द रहने चलचित्रमा एलिस कार्कीको संगीत र राजेश पायल राइको स्वर रहने छ ।

चलचित्रमा मिलन चाम्सको कथा, मिलन र गिरीराज घिमिरेको पटकथा तथा संवाद, सुदिप बरालको छायांकन, अर्जुन विसीको सम्पादन र हिमाल केसीको द्वन्द्व रहने छ ।

प्रतिक्रिया दिनुहोस