Cine Sanchar

Nepali Filmy Khabar

साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा स्वस्तिमा खड्का अनुबन्ध

काठमाडौं | पछिल्लो पटक चलचित्र ‘बुलबुल’ मा आफ्नो दमदार अभिनयले चौतर्फी तारिफ बटुलेकी अभिनेत्री स्वस्तिमा खड्कालाई हालचालै साउथ इन्डियन चलचित्रबाट अफर आएको छ ।

विभिन्न सञ्चार माध्यममा स्वस्तिमाले अफर आएको साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अभिनय गर्ने कुरा पक्का भएको खबर पनि आएको थियो तर, स्वस्तिमाले विस्तारमा कुरा नभएको र चलचित्र गर्ने नगर्ने कुरा अझै निर्णय नभएको बताएकी थिइन् ।

अहिले स्वस्तिमा ‘थिरिमाली’ मा अनुबन्ध भएकी छिन् । निर्माण टिमले स्वस्तिमालाई चलचित्रको मुख्य अभिनेत्रीको रुपमा कागजी सम्झौता गरेको छ ।

कलाकार छनोटसँगै लोकेशनको खोजीमा नेपालमा रहेको उक्त चलचित्रको राजधानीको एक पाँचतारे होटलमा स्वस्तिमा र निर्माण टिमबीच कागजी सम्झौता भएको हो ।

यस चलचित्रमा स्वस्तिमासँगै विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा माओत्से गुरुङसहित अन्य केही नेपाली कलाकारको समेत अभिनय रहने बताइएको छ ।

तर, चलचित्रमा को को नेपाली कलाकार रहने छन् त्यसको बारेमा भने अझै केहि जानकारी गराइएको छैन । मार्चपछि फ्लोरमा जाने यो चलचित्रको ७० प्रतिशत छायांकन काठमाण्डौ र मुस्ताङमा हुनेछ भने बाँकी ३० प्रतिशतको छायांकन भारतका विभिन्न स्थानमा हुनेछ ।

साउथ इण्डियन चलचित्र निर्माण कम्पनि ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा तयार हुने यो चलचित्र निर्माणमा नेपाली ब्यानर ‘अनन्या फिल्मस्’ ले सहकार्य गरेको छ ।

अनन्या फिल्मसका प्रमुख निर्माता सरोज न्यौपानेले स्वस्तिमा महंगो पारिश्रमिकका साथ उक्त चलचित्रमा अनुबन्ध भएको बताएका छन्। तर, पारिश्रमिक भने खुलाएका छैनन् ।

राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्र ‘थिरिमाली’ नेपाली, हिन्दीसँगै साउथ इन्डियाका विभिन्न आधा दर्जनबढि प्रान्तिय भाषामा प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस