Cine Sanchar

Nepali Filmy Khabar

चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्ध

काठमाडौं | दुई वर्ष अगाडि प्रदर्शन भएको दिनेश राउतद्वारा निर्देशित सफल चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

यो चलचित्रमा अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिला नै अनुबन्ध भैसकेका थिए । यसैबीच चलचित्रमा अर्को कलाकारको पनि माग भएको कारण सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो ।

निःसन्तान दाम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’ मा पनि विपिन, नम्रता र निश्चल नै मुख्य भूमिकामा थिए । अब ‘प्रसाद २’ लाई चलचित्र ‘लभ डायरीज’ निर्देशन गरेका निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्।

‘प्रसाद’ जहाँबाट सुरु भएको थियो त्यसअघिको कथा र जहाँ अन्त्य भएको थियो त्यसपछिको कथामा ‘प्रसाद २’ निर्माण हुने बताइएको छ । चलचित्रका लागि तीनै जना कलाकारले महङ्गो पारिश्रमिक लिएको बुझिएको छ ।

यो चलचित्रको कथा शुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ को कथा पनि पौडेल आफैंले लेखेका थिए । अब चैतको पहिलो साताबाट यो चलचित्रको छायांकन सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस