Cine Sanchar

Nepali Filmy Khabar

‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको लागि कलाकारहरुको खोजी

काठमाडौं | साउथ इन्डियन चलचित्र अर्थात तमिल चलचित्रका चर्चित अभिनेता विजय देवरकोण्डा र चर्चित अभिनेत्री शालिनी पाण्डेको मुख्य भूमिका रहेको सुपर हिट चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक हुने भएको छ।

एक वर्ष अगाडि नै ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो चलचित्रको नेपाली रिमेक अधिकार युवा फिल्म्सले भारतीय १० लाख (नेपाली १६ लाख) मा खरिद गरेको थियो । चलचित्रको नेपाली रिमेकको नाम भने तय भइसकेको छैन।

निर्माण घोषणा गरिएको यो चलचित्र कोरोना भाइरसको महामारीका कारण छायांकनमा निस्कन सकेको थिएन । अब यो चलचित्र निर्माण हुने पक्का भैसकेको छ । चलचित्रका लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने भएको छ ।

यो चलचित्रको मुख्य अभिनेताका लागि पहिला अभिनेता आर्यन सिग्देल र अर्का अभिनेता हरिहर अधिकारीको नाम अगाडि आएको थियो । तर, दुवै अभिनेता यो चलचित्रमा नहुने पक्का भएपछि निर्माण टिमले कलाकारको खोजी गरेको हो ।

यो चलचित्रका लागि अभिनेताको उमेर २५ देखि ३० वर्षसम्म र महिला अभिनेत्रीका लागि २० देखि २२ वर्षसम्मको उमेर तोकिएको छ । सह–अभिनेताका लागि पुरुष २५ देखि ३० वर्षसम्म र सह–अभिनेत्रीका लागि २० देखि २५ वर्षसम्मको उमेर तोकिएको छ ।

निर्माण टिमले यस चलचित्रमा अभिनय गर्न इच्छुकले एक तस्वीर, उमेर समूह र फोन सम्पर्क नम्बर पठाउन अनुरोध गरेको छ । इच्छुकले contact@yuvafilms.com मा इमेल गर्न सक्ने निर्माण टिमले जनाएको छ ।

कुनै पनि दक्षिण भारतीय चलचित्रको अधिकार नै लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् भने चलचित्र ‘सेल्फी किङ’ निर्देशन गरेका निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् ।

‘अर्जुन रेड्डी’ लाई सन्दीप रेड्डी भङगाले निर्देशन गरेका थिए । चलचित्रले बक्सअफिसमा ५१ मिलियन कमाई गरेको थियो । यसको हिन्दी रिमेक ‘कबिर सिंह’ ले पनि साढे तीन सय करोडको ब्यापार गरेको थियो । चलचित्रमा शाहिद कपूर र कियारा अडवानीको मुख्य भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस