प्रदीप भन्छन् ‘फिल्म आर्ट हो, बेच्न राखेपछि कमर्शियल बन्छ’
काठमाडौं | ‘नोभेम्बर रेन’, ‘प्रसाद’ जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘प्रकाश’ मा लोकप्रिय अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिदै छन्।
यस चलचित्रमा प्रदीप बाह्र पढिसकेपछि सरकारी शिक्षक बन्न विभिन्न संघर्ष गर्ने जुम्लाको एक निम्न वर्गिय युवकको भूमिकामा देखिँदैछन् ।
मंगलबार राजधानीको होटल याक एण्ड यतिमा चलचित्र ‘प्रकाश’ को औपचारिक घोषणा गरिएको थियो । जहाँ ‘प्रकाश’ को बारेमा निर्माण टिमले आ-आफ्नो भनाइ राखे ।
उक्त घोषणा कार्यक्रममा प्रदीपले भने ‘यो फिल्म कस्तो बन्छ भनेर भन्नु भन्दा पनि यो फिल्म बन्न जरुरी छ । मलाई चित्त बुझेको छ । तपाईहरुको माया र साथ पाए भने सार्थक हुन्छ।’
उनले चलचित्रमा दुई धार नहुने पनि बताएका छन् । ‘फिल्म, संगीत, अभिनय सबै आर्टको फर्म हो । खाली त्यो चिजलाई लगेर बेच्दा कमर्शियल हुन्छ ।
‘फिल्ममा दुई धार भन्ने हुँदैन । एउटा आर्ट हुन्छ, त्यसलाई बेच्न राखेपछि कमर्शियल हुन्छ । त्यसैले एउटै चिज हो, खाली स्टेप मात्र फरक हो । पहिला आर्ट बन्छ र त्यसलाई हामी कमर्शियल भ्यालुमा लगेर तौलिन्छौं ।’
बिनिश इन्टरटेनमेन्टबाट प्रस्तुत हुने यो चलचित्रमा प्रदीपसँग नव- अभिनेत्री रेनु योगी, दिया मास्के लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, तारा प्रकाश लिम्बु, एलिस कार्की र दिपक शर्माको संगीत रहने छ ।
प्रतिक्रिया दिनुहोस