Cine Sanchar

Nepali Filmy Khabar

काठमाडौंको गोपीकृष्ण हल भत्काइदै : २५ तले भवन निर्माण हुने

काठमाडौं | नेपाली चलचित्रका लागि सबैभन्दा प्रिय मानिएको काठमाण्डौको चाबहलिमा अवस्थित गोपीकृष्ण मुभिजको भवन यतिबेला धमाधम भत्काउने काम भैरहेको छ ।

 

सर्वाधिक धेरै सिट क्षमताका गोपी, कृष्ण, राधा र मिरा हल भत्काउन थालिएको छ । गोपीकृष्ण मुभिजका संचालकले २५ तले नयाँ भवन बनाउने योजना अनुसार हल भत्काएका हुन् ।

२०५३ तिर गोपीकृष्ण हल खुल्दा हिन्दी चलचित्रको दबदबा थियो । १३ सय र ७ सय २५ दर्शक क्षमताका गोपी र कृष्ण दुवै हल प्राय: हाउसफुल हुन्थे । पछि ४ सय दर्शक क्षमताका अरू दुई हल थपिए– राधा र मीरा ।

हलका संचालक निरक पौडेलका अनुसार बुबा उद्धव पौडेलले आफ्नो चलचित्र ‘गोपीकृष्ण’ हिट भएपछि यही नामबाट हल खोल्ने घोषणा गरेका थिए । गोपीकृष्ण मुभिजअन्तर्गत ७ हल चलाइए ।

गोपी, कृष्ण, राधा र मिरा हल भत्किए पनि ओम, नम, शिवाय भने संचालनमा आउनेछन् । नयाँ प्रविधि जडान गरेर दर्शकलाई हलसँग जोडिराख्न यी ३ हल संचालन गर्न लागिएको हो ।

हलका म्यानेजर प्रदिप दाहाल ३ वर्षमा २५ तले नयाँ भवन बन्ने बताउँछन् । उनका अनुसार नयाँ भवनमा सपिङ मल, मल्टिप्लेक्स हल, पाँच तारे होटल लगायतका संरचना निर्माण हुनेछन् ।

कोरोनाका कारण लकडाउन भएपछि १० महिना सबैजसो हल ठप्प भए । गोपीकृष्ण पनि यसबाट अछुतो रहेन । निरकले यही अप्ठेरोलाई अवसरमा बदल्ने सोचे । दर्शकको भिड नहुने भएकाले काम अघि बढाउन सहज भएको बताए ।

भवन डिजाइन गर्न एउटा चाइनिज कम्पनीलाई जिम्मा दिइएको छ । १५९ आनामा बन्ने जीकेसीसी भवन करिब ३ वर्षमा तयार हुने निरक बताउँछन् । उनका अनुसार परियोजनाको लागि ४ अर्ब लगानी रहेको छ । 

प्रतिक्रिया दिनुहोस