पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको कथामा बाराक ओबामाले चलचित्र निर्माण गर्ने

 पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको कथामा बाराक ओबामाले चलचित्र निर्माण गर्ने

एजेन्सी | अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वकै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा चलचित्र निर्माण गर्ने भएका छन् ।

चलचित्रको नाम ‘तेन्जिङ’ राखिएको छ ।जसलाई अष्ट्रेलियन निर्देशक जेनिफर पिडम र लुक डेभिसले निर्देशन गर्ने भएका छन् । यो चलचित्र निर्माण भएपछि नेटफ्लिक्समा प्रदर्शन गरिने छ ।

ओबामा दम्पतीको प्रोडक्सन कम्पनी ‘हायर ग्राण्ड प्रोडक्सन’ ले ओटीटी प्लेटफर्म नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको हो ।

सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङ हिरो अफ एभरेस्ट’ पुस्तकमा यो चलचित्र आधारित हुने नेटफ्लिक्सले जानकारी दिएको छ ।

तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई चलचित्रले देखाउनेछ । चलचित्रको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने बताइएको छ ।

हायर ग्राउन्ड प्रोडक्सनले ‘तेन्जिङ’सँगै मोहसिन हामिदको लोकप्रिय उपन्यास ‘एक्जिट वेस्ट’ मा आधारित चलचित्र ओला सोकुन्बी लिखित पुस्तक ‘स्याटलाइट’ मा आधारित चलचित्र निर्माणको पनि घोषणा गरेका छन् । 

यसभन्दा अघि हायर ग्राउन्ड प्रोडक्सनले सन् २०१९ मा वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ निर्माण गरेको थियो । उक्त वृत्तचित्रले गत वर्ष सर्वश्रेष्ठ वृत्तचित्रको लागि ओस्कर अवार्ड पनि जितेको थियो ।

तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

१९१४ मे २९ मा सोलुखुम्बुको थामेमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।

सम्बन्धित खबर