Cine Sanchar

Nepali Filmy Khabar

ज्याक्लिनसँग हलिउड चलचित्रमा नेपाली मोडल अञ्जली लामाको अभिनय

एजेन्सी | नेपालकी ट्रान्सजेन्डर ( तेस्रो लिंगी ) मोडल अञ्जली लामाले हलिउड चलचित्रमा अभिनय गर्ने भएकी छिन् । अञ्जलीले ६ भागमा निर्माण हुन लागेको चलचित्र ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् ।

यो चलचित्रमा अञ्जलीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डेजको पनि अभिनय रहने भएको छ । उक्त चलचित्रलाई लीना यादवले निर्देशन गर्न लागेकी हुन्।

चलचित्रलाई लर्वोलिनो इन्टरटेन्मेन्टको को-प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने छ । यो एन्थोलजी चलचित्र हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ ।

चलचित्रमा अञ्जली र ज्याकलीनसँगै कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा महिलाको जिन्दगीका अलग अलग पक्ष देखाइनेछ ।

नुवाकोटमा जन्मिएकी अञ्जलीको जन्म पुरुषको रुपमा भएको थियो । उनी अहिले महिला बनेकी छिन् । तेस्रो लिंगी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् ।

२०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रो लिंगी मोडल हुन् ।

‘ल्याक्मे फेसन शो’ मा सहभागिता जनाएपछि विश्वभर नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चामा आएकी अञ्जली नेपाली चलचित्रमा समेत अभिनय गर्ने तयारीमा थिइन्।

उनी चलचित्र ‘लाउरे’ मा मुख्य भूमिकामा अनुबन्ध भएकी थिइन् । तर, यो चलचित्र निर्माणकै क्रममा रोकियो । ३ वर्ष अगाडि उनको कथामा एक डकुमेन्ट्री समेत निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस