Cine Sanchar

Nepali Filmy Khabar

‘द कपिल शर्मा शो’ बन्द हुँदै

एजेन्सी | एकदमै चर्चित भारतीय कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ । निर्माण टिमले यो शोको प्रशारण केहि समयको लागि बन्द गर्ने निर्णय लिएको हो।

शो बन्द हुनुको कारण यसलाई नयाँ फ्रम्याटमा दर्शक सामु पेश गर्ने बताइएको छ । केही महिनाको समयपछि यो शो नयाँ शैली पुनः फर्किने बताइएको छ ।
 
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार कोरोना महामारीका कारण लाइभ दर्शक हटाइयो । चलचित्र पनि प्रदर्शन भैरहेका छैनन् र कोही कलाकारहरु पनि प्रमोशनका लागि आइरहेका छैनन् ।

त्यसैले निर्माण टिमले शोलाई केही समयका लागि स्थगित गर्नु नै ठिक हुने निर्णय लिएका छन् । सबै सामान्य भएपछि पुनः फर्किने योजना बनाएको छ ।

तर, कपिलले ‘द कपिल शर्मा शो’ को अहिलेको सिजन बन्द गर्ने र नयाँ सिजन सुरु गर्ने विषयमा कुनै घोषणा गरेका छैनन् । उनले हालै आफूले डिजिटल प्लेटफर्म नेटफ्लिक्ससँग सहकार्य गर्न लागेको बताएका थिए ।

शोको प्रशारण फेब्रुअरीको दोस्रो सातादेखि बन्द हुनेछ । ‘द कपिल शर्मा शो’ सन् २०१८ डिसेम्बरदेखि प्रशारण हुन थालेको हो ।

यस शोमा कपिलसँगै भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर, किकू शारदा, सुमोन चक्रवर्ती र अर्चना पूर्ण सिंह लगायतका कलाकारहरु छन् ।

प्रतिक्रिया दिनुहोस