Cine Sanchar

Nepali Filmy Khabar

वैवाहिक बन्धनमा बाँधिए वरुण र नताशा

एजेन्सी | बलिउड सिने क्षेत्रका निकै लोकप्रिय नायक वरुण धवन र फेसन डिजाइनर नताशा दलाल वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार मुम्बईको अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा उनिहरुको विवाह सप्पन्न भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार दुवै पक्षका परिवार र नजिकका साथीहरूको उपस्थितमा आफ्नो परम्परा अनुसार विवाह सम्पन्न गरिएको छ ।

वरुण धवन आफैंले पनि सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेका छन् । उनले आफ्नो जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् ।

उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो । फेब्रुअरी २ तारिखमा मुम्बईको ‘जेडब्ल्यू म्यारियट’ मा रिसेप्सन हुने बताइएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जान सक्ने बताएका छन् । नताशा फेसन डिजाइनर हुन् ।

उनी आफ्नै नामको लेबल पनि चलाउँछिन् जुन वेडिङ गाउन र ब्राइडल ड्रेसेजका लागि परिचित छ । उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेको पहिरन छानेकी हुन् ।

विवाह समारोहमा सञ्चारकर्मीका लागि नो फोटो पोलिसी अपनाइएको थियो । विवाहमा सरिक पाहुना, इभेन्ट कम्पनीका कर्मचारी, अलिबाग मेन्सनका कर्मचारीको मोबाइल फोन, क्यामरामा स्टिकर लगाइएको थियो ।

कोरोना कहरमा भएको विवाहमा संक्रमणको जोखिम शून्य होस् भन्नका लागि मेन्सन हाउसको प्रवेशद्वारमा नै पाहुनाका लागि कोभिड परीक्षण गरियो । जसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, उनीहरुलाई फिर्ता पठाइएको थियो ।

वरुणका अनुसार नताशाले उनलाई सुरुमा धेरैपटक अस्विकार गरेकी थिइन् । तर, पछि लगातारको प्रयासपछि नताशा पनि प्रेम सम्बन्धमा रहन तयार भएकी हुन् ।

नताशालाई पहिलोपटक देख्दा त्यतिबेला उनी ६ कक्षामा पढ्दै गरेको र ११ र १२ कक्षासम्म एकअर्काको मिल्ने साथी हुँदा त्यसको केही समयपछि नताशालाई मन पराउँन थालेको वरुणले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस