‘फुलबुट्टे सारी’ ले मलिकालाई दिएको खुशी

 ‘फुलबुट्टे सारी’ ले मलिकालाई दिएको खुशी

काठमाडौं | स्टाइलिस नायक सलिनमान बानियाँसँग चलचित्र ‘यात्रा’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका मलिका महतले यतिबेला छुट्टै खुशी प्राप्त गरिरहेकी छिन् ।

खुशीको कारण हो ‘फुलबुट्टे सारी’ । मार्मिक लामाको यो गीतलाई फिमेल भर्सनमा गायिका मिलन नेवारले स्वर दिएकी छिन् । जसमा मलिकाले चर्चित नायक पल शाहसँग अभिनय गरेकी छिन् ।

‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छोटो समयमा नै एकदमै हिट भयो । मलिका धेरै खुशी छिन् । विभिन्न सामाजिक संजाल र टिकटकमा यो गीत निकै बजिरहेको छ ।

सबैको मुखमा झुन्डिएको यो गीतलाई २ हप्ता मै दर्शकहरुले युट्युबमा ९० लाखभन्दा बढी पटक हेरेका छन् । यो गीतको छायांकन कालिञ्चोकमा गरिएको हो जहाँ निकै मनोरम दृश्यहरु खिचिएको छ ।

‘यात्रा’ बाट राम्रो सफलता पाउन नसकेकी मलिकालाई अहिले निर्माण टिमबाट थुप्रै भिडियोको अफर आउन थालेको छ । तर, मलिका भने राम्रो अडियो आएको खण्डमा मात्र काम गर्ने योजनामा रहेको बताइन् ।

उनले भनिन् ‘ फुलबुट्टे सारीले दर्शकको माया पाएको छ । तर, मैले चलचित्रबाट पनि छुट्टै खालको सफलता पाएकी थिएँ । चलचित्रमा काम गरेपछि मैले धेरै कुरा बुझेँ।

चलचित्रभन्दा बढी सफलता गीतको भिडियोबाट पाएँ भनेर म भन्न चाहन्न । तर, दर्शकले मलाई यो भिडियोमा रुचाउनुभयो । ठूलो संख्यामा दर्शकले मलाई चिन्नुभएको छ ।’

लकडाउनपछि केही चलचित्रको अफर आएपनि यो गीत हिट भएपछि चलचित्र भन्दा बढी अफर भिडियोबाट नै आएको उनि बताउँछिन् ।

मलिकाले ‘यात्रा’ पछि नायक खगेन्द्र लामिछानेसँग नयाँ चलचित्र ‘पानी फोटो’ मा अभिनय गरिरहेकी छिन् । तर,कोरोनाको कारण चलचित्रको प्रदर्शन मिति घोषणा हुन सकेको छैन ।

सम्बन्धित खबर