९ महिना फिल्म हल बन्द हुँदा २ अर्ब घाटा

 ९ महिना फिल्म हल बन्द हुँदा २ अर्ब घाटा

काठमाडौं | महामारी रुप लिइरहेको कोरोना भाइरसको त्रासका कारण चैत ७ गतेबाट फिल्म हल बन्द भई ९ महिनासम्म आइपुग्दा देशभरका हल सञ्चालकलाई २ अर्बभन्दा धेरै रकम घाटा भएको छ ।

 
काठमाडौं उपत्यकासहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका करिब २ सय वटा हल बन्द हुँदा हल व्यवसायीले दुई अर्बभन्दा धेरै रकम ९ महिनाको अवधिमा गुमाएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले बताए ।

फिल्म हल रहेको घरभाडा, स्टाफ खर्च, बिजुली, पानी, ट्याक्स लगायतमा ९ महिनामा हल व्यवसायीले दुई अर्ब घाटा व्यहोरेको अध्यक्ष प्रधानको भनाइ छ । अधिकांश हल भाडाको घरमा सञ्चालन हुँदै आएका छन् ।

देशभर रहेका फिल्म हलमध्ये करिब आधा मल्टिप्लेक्स छन् । अध्यक्ष प्रधानका अनुसार करिब ९५ वटा मल्टिप्लेक्स छन् । सिंगल स्क्रिनको मल्टिप्लेक्स निर्माणका लागि सामान्यतः ६ करोड लगानी हुन्छ । संघका अनुसार मल्टिप्लेक्स र सिंगल थिएटरमा गरेर १२ अर्बभन्दा धेरै लगानी छ ।

पछिल्लो समय बनेर भर्खरै सञ्चालनमा आएका अथवा निर्माण हुँदै गरेका फिल्म हलका लगानीकर्ता झन ठूलो मारमा परिरहेको संघले जनाएको छ । हल बन्द हुँदा आम्दानी शून्य हुँदा बैंकलाई ब्याज तिर्नसमेत गाह्रो भएको हल सञ्चालकहरु बताउँदै आएका छन्।

हल व्यवसायीले चलचित्र क्षेत्रलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायमा राख्नुपर्ने, हल सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज

मिनाहा हुनपर्ने,मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने माग गरेका छन् ।

सबै क्षेत्रले सञ्चालनको अनुमति पाइसक्दा चलचित्र क्षेत्रमा मात्रै बन्देज लगाइएको भन्दै हल सञ्चालकहरुको संस्था ‘नेपाल चलचित्र संघ’ ले यही पुष १० गतेबाट हल खोल्ने एकपक्षीय निर्णय लिएको हो ।

सम्बन्धित खबर