लगानी साढे २ लाख, आम्दानी ८ लाख: गीत ‘नबोली नबोली’

 लगानी साढे २ लाख, आम्दानी ८ लाख: गीत ‘नबोली नबोली’

काठमाण्डौ | आधुनिक तथा चलचित्रका थुप्रै हिट गीतहरू दिएका संगीतकार हुन् अर्जुन पोखरेल । विशेष गरी चलचित्रका लागि रच्दै आएका उनका गीतहरुले दर्शकको मन जित्दै आएका छ्न । यसैबीच अर्जुनले ‘नबोली नबोली’ गीत ल्याए जुन गीतले छोटो समयमै राम्रो सफलता प्रदान गर्‍यो ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने प्रविन भेडवाल र समिक्षा अधिकारीको स्वर छ । यो म्यूजिक भिडियोलाई निर्माण पनि आफै अर्जुनले गरेका छन् ।

सार्वजनिक भएको २ महिनामा यो गीतलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । गीतलाई १ करोड पटक हेर्नु मात्र सफलता होइन । ‘नबोली नबोली’ले गाउँदेखि शहरसम्मका श्रोताको मन जितेको छ ।

गीतले भ्यूज बटुल्दैमा नाफा धेरै नै कमाउँछ भन्ने पनि होइन । अर्जुनले पनि निर्माण गरेका केही गीतले भ्यूज अनुसारको आम्दानी दिएका छैनन् ।

संगीतकार अर्जुन पोखरेलले यो गीत अरु केही निर्मातालाई पनि सुनाएका थिए । तर, यो गीतमा लगानी गर्न अरुले आनाकानी गरेपछि अर्जुन आफै अघि सरेका हुन ।

अर्जुनका अनुसार, यो गीतमा उनले आफ्नो पारिश्रमिक नजोड्दा साढे २ लाख हारहारीको लगानी गरेका छन् । गीतको अडियो र भिडियो साढे २ लाखमा तयार पारेका अर्जुनले बताए । गीतको भिडियोलाई अहिलेसम्म १ करोड भन्दा बढी पटक हेरिदा युट्युबबाट ८ लाख आम्दानी भएको छ ।

अर्जुन भन्छन्‘गीतको भ्यूज अझै दैनिक १ लाख भन्दा बढी गैरहेको छ । यसैले, यसको आम्दानी अझै बढ्छ ।’‘गीत धेरै पटक हेरिदैमा पैसा पनि धेरै आउँछ भन्ने होइन।

मैले बनाएका केही गीतहरु १ करोड भ्यूज जाँदा पनि एक लाख आम्दानी युटुबबाट भएको अनुभव मसँग छ । तर, यो गीतलाई दर्शकले धेरै पटक मात्र होइन धेरै मिनेट पनि हेरिदिनुभएको छ । यसैले, यसले राम्रो कमाई गरेको हो ।’

 

सम्बन्धित खबर